श्रद्धेय नेपाल सरकार,
सम्माननीय गुरुज्यूहरू,
र शिक्षासँग प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्ने सबैपक्ष,
सादर अभिवादन!
आज हामी एक यस्तो चिठी लेख्दैछौं, जुन केवल शब्दको लहर होइन, यो हाम्रो मनको पीडा, आशा, चिन्ता र समाधान खोज्ने प्रयत्न हो । यो चिठी कुनै पार्टीको होइन, कुनै संगठनको होइन, यो चिठी विद्यार्थीहरूको हो—जो शिक्षालाई केवल पेशा होइन, जीवनको प्रकाशशक्ति ठान्दछ ।
१. किन यो चिठी लेख्नुप¥यो?
विज्ञान प्रविधि र मौलिक युगमा छौँ । हामी स्कूल जान चाहन्छौं, शिक्षकहरूबाट प्रत्यक्ष ज्ञान प्राप्त गर्न चाहन्छौं । हामी कक्षाकोठामा साथीहरूसँग सँगै बसेर भविष्यको सपना बुनिरहन चाहन्छौं । तर अहिले त्यो सम्भव छैन । किनभने हाम्रो कक्षाकोठा बन्द छ, हाम्रा गुरुज्यूहरू सडकमा छन्, र सरकार कानमा तेल हालेर बसेको छ । कालो चस्मा लगाएर सरकार आफ्नो कुर्सीमा मौन देखिन्छ ।
शिक्षक आन्दोलनले हाम्रो शिक्षा, हाम्रो भविष्य र हाम्रो आत्मविश्वासलाई गम्भीर असर पारेको छ । शिक्षकहरूको आन्दोलनलाई हामी समर्थन गर्छौं, तर यसको असर हामी विद्यार्थीहरूलाई नपरोस् भन्ने हामी चाहन्छौं । यही कुरा ब्याख्या गर्न हामी यो चिठीमार्फत आवाज उठाइरहेका छौं ।
२. शिक्षकहरूको पीडा र संघर्ष
शिक्षक वर्गले धेरै वर्षदेखि सेवा सुरक्षा, स्थानान्तरण प्रक्रिया, स्थानीय सरकारद्वारा गरिने दमन, तलब सुविधा, र स्थायीत्वका लागि आवाज उठाउँदै आइरहेका छन् । शिक्षा ऐनमा गरिएको संशोधन र त्यसबाट उत्पन्न अन्योलले शिक्षकहरू सडकमा उत्रन बाध्य भएका छन् ।
संसदमा पारित शिक्षक समायोजनसम्बन्धी ऐनले धेरै शिक्षकहरूलाई अन्याय भएको महसुस दिलायो । शिक्षकलाई स्थानीय तहको मातहत राख्नु, राजनीतिक हस्तक्षेप बढाउनु, र सेवाको स्थायीत्व नदिँदा उनीहरूमा असन्तुष्टि बढेको हो । शिक्षकहरू केवल तलबको लागि होइन, गरिमा, सेवा सुरक्षाको लागि आन्दोलनरत छन् ।
३. आन्दोलनको घेराभित्रको मौन आवाज
हामी विद्यार्थीहरू बीचमा परेका छौं—दुई विशाल शक्तिको झगडामा । एकातिर सरकार छ, जसको जिम्मेवारी हो शिक्षाको गुणस्तर कायम राख्नु । अर्कोतिर शिक्षक छन्, जसको कर्तव्य हो शिक्षण । तर जब यी दुईबीच विवाद हुन्छ, हामी गुम्नेछौं—हाम्रो पढाइ, हाम्रो परीक्षा, हाम्रो भविष्य ।
कसैले पनि हाम्रो पक्षबाट कुरा गरेन । हामीलाई न त सरकारको तर्फबाट स्पष्ट सन्देश आयो, न त शिक्षकहरूको तर्फबाट वैकल्पिक शिक्षा सुनिश्चित गर्ने योजना । हामी मौन छौं, तर यो मौनता शान्ति होइन—यो डर, चिन्ता र अन्योलले भरिएको मौनता हो ।
४. शिक्षकहरू मात्र होइन, अभिभावक पनि
गुरु (शिक्षक) भनेको ज्ञान, अनुभव, र नैतिक मूल्य को प्रकाश फैलाउने व्यक्ति हो जसले विद्यार्थीहरूलाई केवल पुस्तकीय ज्ञान मात्र नभएर जीवन जीउने कला सिकाउँछ । गुरु नै समाजको नींव हुन् जसले भविष्यका नागरिकहरूलाई सही मार्गमा लगाउँछन् । शिक्षक भनेको विद्यार्थीहरूलाई ज्ञान, कौशल, र चरित्र निर्माण गर्न मार्गदर्शन गर्ने व्यक्ति हो । गुरु भगवानको दूत हुन् जसले अज्ञानताको अँध्यारो हटाउँछन् । “आचार्य देवो भवः“ (गुरु देवतासमान हुन) भन्ने वैदिक उक्ति अनुसार, गुरु नै समाजको सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हुन् । आधुनिक युगमा पनि शिक्षकको भूमिका मानवता, प्रगति र सभ्यताको संरक्षक को रूपमा अहं छ । हामी शिक्षकहरूलाई केवल पढाउने पात्र होइन, हाम्रो जीवनका सन्देशवाहकको रूपमा हेर्छौं । तपाईंहरूले हाम्रो जीवनमा जुन योगदान दिनु भएको छ, त्यसको मूल्यांकन शब्दमा हुन सक्दैन । तपाईंहरू सडकमा हुनुहुन्छ भने त्यो गम्भीर विषय हो ।
शिक्षकलाई उचित सम्मान, सेवा सुरक्षा र काम गर्ने स्वच्छ वातावरण मिल्नु पर्छ भन्ने हाम्रो पनि माग हो । शिक्षक असुरक्षित महसुस गर्छ भने शिक्षा अस्थिर हुन्छ । यो कुरा सरकारले बुझ्न जरुरी छ ।
५. शिक्षा मन्त्रालय होइन, शिक्षाको गहिरो चेतना आवश्यक
आदरणीय नेपाल सरकार,
शिक्षा कुनै मन्त्रालयको फाइलमा सीमित हुने विषय होइन । यो राष्ट्र निर्माणको आधार हो । शिक्षामा गरिने हरेक निर्णयले लाखौं विद्यार्थीको भविष्य निर्धारण गर्छ । त्यसैले शिक्षकहरूप्रति दमनकारी नीति होइन, संवाद र समझदारीको बाटो रोजिनुपर्छ ।
यदि शिक्षकहरूको माग वैधानिक हो भने, त्यसलाई सम्मानपूर्वक सम्बोधन गर्नुहोस् । यदि माग अव्यवहारिक छ भने, स्पष्ट संवाद गर्नुहोस् । तर समस्या झनै पेचिलो बनाउने काम नगर्नुहोस् ।
६. गुणस्तरको नाममा प्रयोगशाला भएका हामी
आज शिक्षाको नाममा अनलाइन कक्षा, मोबाइलबाट पढ्ने प्रणाली, अस्थायी शिक्षकका माध्यमबाट पठनपाठन, र पाठ्यक्रम पुरा नहुँदै परीक्षा जस्ता अस्थायी समाधानहरू हाम्रो जीवनको वास्तविकता बनेको छ । हामी प्रयोगशालाका चूहाहरू झैं भइसकेका छौं, जसमा कहिले नीति परीक्षण हुन्छ, कहिले आन्दोलन परीक्षण ।
हामी सिकिरहेका छैनौं, केवल परीक्षा पास गरिरहेका छौं । यो अवस्था बदल्न आवश्यक छ । विद्यालय शिक्षा दिने ठाउँ हो, प्रयोग गर्ने ठाउँ होइन ।
७. शिक्षामा होइन, मनोविज्ञानमा असर
शिक्षक आन्दोलनको सीधा प्रभाव केवल शैक्षिक प्रक्रियामा मात्र नभई, विद्यार्थीहरूको मनोविज्ञानमा गहिरो चोट पु¥याएको छ । कक्षा बन्द हुनु, नियमित पठनपाठन अवरुद्ध हुनु, परीक्षा अनिश्चित हुनु जस्ता प्रत्यक्ष असरहरू त छन् नै, तर त्यसभन्दा भयावह असर विद्यार्थीको मानसिक स्वास्थ्य, आत्मविश्वास, भावनात्मक स्थायीत्व, र समाजप्रतिको दृष्टिकोणमा परेको छ ।
शिक्षकको आन्दोलनले हाम्रो शैक्षिक मात्र होइन, मानसिक र सामाजिक जीवनमा पनि असर पारेको छः
मानसिक असरः हामी डराएका छौं, असमञ्जसमा छौं, भविष्यप्रति आशंका छ ।
शैक्षिक असरः कक्षा छुटेको छ, पाठ्यक्रम अधुरो छ, परीक्षा अनिश्चित छन् ।
सामाजिक असरः विद्यार्थीहरूमा निराशा, आक्रोश, र सरकार तथा शिक्षकप्रति विश्वासको संकट उत्पन्न भएको छ।
८.विरोध होइन, वार्ता हो बाटो
हामी विद्यार्थीको माग स्पष्ट छः
शिक्षकहरूको जायज माग तत्काल सम्बोधन गरियोस् ।
शिक्षकहरूको स्थानान्तरण, समायोजन तथा सेवा सुरक्षाको स्पष्ट मापदण्ड तयार गरियोस् ।
शिक्षा मन्त्रालय र शिक्षक संघबीच वार्ता टुंगोमा पुगोस् ।
विद्यार्थीको पढाइ वैकल्पिक माध्यमबाट सुनिश्चित गरियोस्, कक्षा नबन्द गरियोस् ।
शिक्षा नीति दीर्घकालीन दृष्टिकोणमा तयार गरियोस् ।
९. विद्यार्थीहरूको प्रत्यक्ष अनुभव – जीवनको कथा
तपाईहरुले पढाउनु भएका विद्यार्थी प्रधानमन्त्री छन, मन्त्री छन, सांसद छन्, सबै क्षेत्रमा तपाईहरुका नै विद्यार्थीहरु छन । तपाईहरुले उहाँहरुलाई शिक्षा कस्तो शिक्षा दिनु भएको हो । शिक्षकलाई मार्ने, सडकमा आन्दोलन गर्नु बाध्य पार्ने, शिक्षकलाई पिट्ने, कालो मुसो दल्ने, शिक्षिकालाई बल्लात्कार गर्ने, हेप्ने, जलाउने, पिडा दिने मानसिक यातना दिने आदी । गुरुहरु कस्तो शिक्षा दिनु भयो उहाँहरुलाई ?
हामीमध्ये कोही बोर्ड परीक्षा, कोही नयाँ भर्नाको तयारीमा । तर कक्षाकोठा बन्द हुँदा हाम्रो लक्ष्य अन्योलमा परेको छ । मनोबल घटेको छ, किताब हेर्न मन लाग्गेको छैन । कोही विद्यार्थी नेपालमा पढेर काम छैन भनेर विदेश जानुको लागि तयारी गर्दैछन् । कोही विद्यार्थी अहिलेको नेपाल सरकारको कारणले पनि विदेश जान पनि वाध्य छन । शिक्षक कक्षामा हुनुहुन्न, मोबाइल कक्षा झैं लाग्दैन । अब कति दिन यो अन्योल चल्ने?
१०. अब मौन रहन सकिँदैन
शिक्षा राष्ट्रको मेरुदण्ड हो भने, विद्यार्थी त्यो मेरुदण्डका अस्थिहरू हुन् । शिक्षक त्यहाँ रक्तसञ्चार गराउने मुटु हुन्, र सरकार त्यो शरीरलाई सञ्चालन गर्ने मस्तिष्क । यी तीनवटाबीच द्वन्द्व हुनु भनेको सम्पूर्ण शरीर लथालिंग हुनु हो ।
त्यसैले शिक्षाबाट नै विश्वको कायापलट हुनु सक्छ । संस्कारहिन, चरित्रहिन कपुतन्त्रे सरकार सामु गुरुहरु नझुक्नुहोस । शिक्षामा प्रतिमान परिवर्तनको लागि मौलिक शिक्षाको लागि एक जुट हुनुहोस ।
गुरु र शिक्षकहरुलाई आग्रह अबको १२ देखि १५ वर्षमा तपाईहरुको योगदानले देश कायपलट हुनु सक्छ । विद्यार्थीहरु संस्कार पठाउनुहोस, नैतिवान , चरित्रवान वा स्वलम्वी बनाउनुहोस । देशको माटो पठाउनुहोस । देशको सम्पदा पठाउन्होस । पुर्खाहरुको ज्ञान लाई प्रविधिमा जोड्नुलागि प्रेरित गर्नुहोस । पुर्खाहरुको योगदानलाई प्रविधिमा जोड्ने बाटो देखाउनुहोस । देशका संस्कृति,रितिरिवाज,परम्परा आदी पठाउनुहोस । देशको इतिहास पठाउनुहोस । हाम्रा मौलिक परम्परा रितिरिवाज विद्यान र प्रविधिमा जोड्ने कुरा सिकाउनुहोस ।
शिक्षा भनेको विद्याको एउटा आयाम हो, जसले मानिसको बौद्धिक, सामाजिक, आर्थिक र आध्यात्मिक विकासको आधारशिला राख्छ । शिक्षाले ज्ञान, सीप, नैतिकता दिनुपर्छ भन्ने मान्यता अहिले पश्चिममा पनि देखिएको छ, तर यसको स्वरूप र प्राथमिकतामा विविधता छ । एउटा समाजमा भएका सबै मानिसलाई एउटै डालामो राखेर हेरियो भने, त्यो भूल हुनेछ, किनभने मानिसको आवश्यकता, रुचि, र क्षमता फरक–फरक हुन्छन् ।
पश्चिममा आध्यात्मिकता र मानसिक स्वास्थ्यको बारेमा गहन चर्चा गर्नेहरू छन् भने पूर्ण रूपमा भौतिकवादलाई मान्नेहरू पनि छन् । यस्तै नेपालमा पनि मानसिक विकासमा ध्यान दिनेहरू, दर्शन र चिन्तनमा लाग्नेहरू छन् भने भौतिकवाद र अर्थ आर्जनमा तल्लीन हुनेहरू पनि छन् । केहीले “जसरी हुन्छ कमायो, अनि ब्रान्डेड लुगा, रेटेड होटलमा खाने, नयाँ–नयाँ ग्याजेट प्रयोग गर्ने“ लाई नै जीवनको उद्देश्य मानेका छन् । उनीहरूले भौतिक सुखबाट नै सन्तुष्टि लिइरहेका छन् ।
अब प्रश्न उठ्छ—शिक्षा कस्तो बनाउने ? यो एकदमै चुनौतीपूर्ण विषय हो । केही कुराहरू शाश्वत सत्य हुन्, जस्तै नैतिकता, सत्यता, करुणा, अनुशासन, र समाजप्रति दायित्व । यी कुराहरू शिक्षा नीति र पाठ्यक्रममा अवश्य समावेश गर्नुपर्छ । त्यस्तै, केही कुरा समय, स्थान र परिस्थिति अनुसार परिवर्तन हुन्छन् । आजको डिजिटल युगमा प्रविधिको ज्ञान, विश्वव्यापी अन्तरसम्बन्ध, र रोजगारीमूलक सिपहरू नेपाली शिक्षामा पनि अनिवार्य छन् ।
यसका साथै, नेपालको सन्दर्भमा शिक्षालाई राष्ट्रिय पहिचान, सांस्कृतिक मूल्य, र भाषिक विविधतासँग जोड्नुपर्छ । विद्यार्थीहरूलाई न केवल विदेशी भाषा र प्रविधि सिकाउनु, तर नेपाली भाषा, इतिहास, र स्थानीय ज्ञानप्रति पनि गौरवान्वित बनाउनु आवश्यक छ । शिक्षा प्रणालीले व्यावहारिक जीवनमा उपयोगी सिप, जस्तै समस्या समाधान, सृजनात्मकता, र सहकार्यको भावना विकास गराउनुपर्छ ।
आजको शिक्षा भनेको बन्द प्रणाली वा बन्द कक्षाकोठामा सीमित हुने विषय होइन । यो एक गतिशील प्रक्रिया हो जसले जीवनको हरेक आयामलाई छुनुपर्छ । हाम्रो आफ्नै सभ्यता, इतिहास, र संस्कृतिबाट विकसित भएका मूल्यहरू हाम्रो शिक्षाको प्रतिमान (मूल आधार) हुनुपर्छ, जबकि विश्वबाट आएका उपयोगी ज्ञान र प्रविधिहरू उपमान (सहायक तत्व) को रूपमा लिनुपर्छ । शिक्षा पद्धतिले केवल पुस्तकीय ज्ञानमा मात्र केन्द्रित नभई अनुसन्धान, आविष्कार, नवाचार, र नैतिक चरित्र निर्माणलाई प्राथमिकता दिनुपर्छ । नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक सम्पदा, र स्थानीय ज्ञानलाई शिक्षामा समावेश गरेर यसको संरक्षण, संवर्धन, र प्रवर्धन गर्नुपर्छ । विज्ञान र प्रविधिमा नेपाल पछि परेको छ । यसको लागि शिक्षा प्रणालीले शोध, नवाचार, र प्रयोगात्मक शिक्षालाई बढावा दिनुपर्छ । तर, यसको साथै धर्म (नैतिकता), विवेक (तर्कशक्ति), र सहृदयता (मानवता) को समन्वय पनि हुनुपर्छ । अन्तर्राष्ट्रिय ज्ञानसंगतिको साथै नेपाली यथार्थलाई जोड्ने शिक्षा विकासको मूलमन्त्र हो । पर्यावरणीय सन्तुलनलाई ध्यानमा राखी टिकाऊ विकासको शिक्षा दिनुपर्छ । शिक्षाले केवल “कर्ता“ होइन, “मानव“ बनाउनुपर्छ—जसले समाजमा न्याय, करुणा, र उत्तरदायित्व बढाउँछ ।
अब हामी मौन बस्दैनौं । यो चिठी हाम्रो आवाज हो । हामी यो आन्दोलनको असरको अन्त्य चाहन्छौं । हामी अध्ययन गर्न चाहन्छौं, सिक्न चाहन्छौं, सपना देख्न चाहन्छौं ।
अन्ततः, हाम्रो एक मात्र आग्रहः
हामीलाई पढ्न दिइयोस् ।
हाम्रो भविष्यमा राजनीति नगरियोस् ।
शिक्षक गुरुलाई सम्मान दिइयोस् ।
शिक्षालाई राष्ट्रको प्राथमिकता बनाइयोस् ।
शिक्षा जिन्दगी हो । कृपया यो जिन्दगीमा politics नगरौं ।
शुभकामनासहित,
नेपालका सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट
धिरेन्द्र चन्द सोडारी