आज पुस २७ गते राष्ट्रिय एकता दिवस । पृथ्वीनारायण जयन्तीसँगै हिमवत्खण्ड पुनःजार्गगरण दिवस मनाइँदै छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण छन् ।
पृथ्वीनारायणले हामीलाई एक सिङ्गो राष्ट्र दिएर गए । एक यस्तो राष्ट्र, जुन कहिल्यै परशक्तिसँग झुकेन । न त कहिल्यै बन्धक भएर नै बस्यो । पृथ्वीनारायणले दिएका उपदेशहरू अहिले पनि उस्तै सान्दर्भिक छन् ।
जस्तैः
तिम्रो दक्षिणको छिमेकी निकै धूर्त छ, उसले कुनै पनि बेला घात गर्न सक्छ, उसबाट सधैँ बच्नू ।
मेरा साना दुःखले आर्ज्येकाे मुलुक होइन ।
हाम्रो देश सबै जातिको साझा फूलबारी हो ।
नेपाल दुई ढुङ्गाबीचको तरुल हो ।
अङ्ग्रेजहरू बाइबल लिएर पस्न सक्छन् तिनलाई प्रवेश निषेध गर्नू ।
टक्सार चोखो चलाउनु, अदालतको पैसा दरबारमा नहाल्नु ।
घूस लिन्या र दिन्या दुवै राष्ट्रका महाशत्रु हुन्, यिनीहरूको त ज्यान नै लिए पनि माफी हुनेछ ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिनू, सीप सिकेर स्वदेशमा नै सदुपयोग गर्नू, राज्यलाई टुक्रा होइन, एकाकार पार्नू ।
कुलधर्म नछोड्नू । सीमाकाे चनाखो भएर रक्षा गर्नू आदि ।
धेरै दिव्योपदेश सुन्न र पढ्न पाइन्छ ।
विश्वमा कुनै पनि व्यक्ति नै शक्तिशाली हुन्छ, जसले हरेक कुराको मार्गनिर्देशक दिन सक्छ । हरेक समस्याहरूको समाधान दिन सक्छ । उही व्यक्ति नै महान हुने हो । विश्वमा त्यही व्यक्ति अग्रसर भएर व्यक्ति-व्यक्ति हुँदै, समाज निर्माण गर्दै त्यही व्यक्तिले देश निर्माण गर्न सक्छ, समाज परिवर्तन गर्न सक्छ ।
ती व्यक्तिहरूलाई कुनै न कुनै रूपमा हामीले सम्झनुपर्छ । एकता दिवस मनाउँदा पृथ्वीनारायण शाहको सम्मान र राष्ट्र-राष्ट्रियतालाई कमजोर बन्न नदिनु नै हो । हामीले पुर्खाहरूको सम्मान गर्न सकेका छैनाैँ भने भोलि हाम्रा सन्तानले पनि सम्मान गर्ने छैनन् । हामीले पुर्खाहरूलाई बिर्सन हुँदैन । हामीले एउटा संस्कारको थालनी गर्नु पनि आवश्यक छ । हामीले पुर्खालाई बिर्सियौँ भने हाम्रा सन्तानहरूले हामीलाई पनि बिर्सने छन् ।
अनेकौँका दृष्टिमा सम्पादक हरिप्रसाद सोडारी लेख्नुहुन्छ, ‘हामीसँग सगरमाथाको माथ, देवीदेवताको काख, सनातनको साथ, पितापुर्खाको साख, गौतमबुद्धको शान्ति, गोरखालीको साहस र नेपालको शक्ति छँदासम्म खुट्टा टेकेर, छाती फुलाएर, शिर ठड्याएर हिँड्न सक्छौँ । यही भूमिमा वेद, त्रिपिटक र मुन्धुमजस्ता शास्त्र एवं ग्रन्थहरू जन्मिए । वेदान्त दर्शन, जनक दर्शन, मन्धुम, बौद्धदर्शन आदि यहीँ उम्रिए । गोत्र, प्रवर, पाछा र सामेल संस्कृति बचाई राखे । गोरखालीको ज्यान, नेपालीको शान, ऋषि मुनिहरूको ध्यान, वेदको ज्ञानकै कारण यस राष्ट्रले उपनिवेशको अनुहार, भूगोलको विभेद देख्नुपरेन । पुर्खाको राष्ट्रप्रेम, एकता र वीरताकै कारण मल्लकालमा अनेक टाकुरामा विभाजित नेपालले अन्ततः आधुनिक कालमा साकार रूप लियो । भित्र भूगोल, फरक धर्म, अलग भाषा, पृथक चिन्तन, छुट्टै संस्कृति भए पनि सबै नेपाली भन्न र हुन पाउँदा प्रसन्न थिए । पितापुर्खाको तागत, त्याग, तेज र तत्परताकै कारण प्रबल शत्रु सेना एवं कूटिल परचक्रीसमेत झुकेको गौरवमय इतिहास हामीसँगै छ ।’
एकताका प्रतीक, हिमवत्खण्डका एकिकरणकर्ता, पुनर्जागरणका संवाहक एवं मौलिकताका संरक्षक युगपुरुष श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायणको त्याग, तपस्या, योगदान आदि छाती खुलाएर गर्वका साथ उहाँको सम्मान गर्नुपर्छ ।
माइक्रो सफ्टका संस्थापक बिल गेट्स, फेसबुकका आविष्कारकर्ता मार्क जुकरबर्ग, अमेजनका संस्थापक जेफ बेजोस, विद्युतीय गाडी टेस्लाका संस्थापक एलन मस्क हुन्, यसरी विश्वलाई नै निलेर सबैभन्दा धनी बन्ने सपना बोकेका थिएनन् । तर के हामीले उनीहरूलाई नसम्झने ? अलेक्जेन्डर फ्लेमिंगले योजनाबिनै आविष्कार गरेको पेनिसिलिन विश्वमा सबैभन्दा महत्त्वपूर्ण औषधि आविष्कार मानिन्छ । के उहाँलाई श्रेय नदिने ? घरको दशौँ तलामा बस्छु भनेर घरको जग बनाउनेलाई जश नदिने ।
विश्वमा नै ध्वस्त भएको काल मार्क्सकाे सिद्धान्त ल्याएर फेरि उनकै नाम बेचेर नेपालमा चुरीफुरी गर्नेहरूले ठूला-ठूला फूर्ति नदेखाए हुन्छ । सबैको सम्मान गर्न सक्नुपर्छ । नेपाललाई विश्वसामु चिनाउने बुद्ध र पृथ्वीनारायण शाह हुन्, जसले विश्वलाई सन्देश दिन सके र आफूले आफ्नै सिद्धान्त लागू गरे । आज आएर तपाईं/हामी गर्वसाथ उहाँहरूको योगदान आदि कुराहरू सम्झिरहेका छौँ । चिन्तन पनि गरिरहेका छौँ । व्यवहारमा लागू पनि गरिरहेका छौँ । आज कैयौँ युवाहरू पृथ्वीनारायण शाहका दिव्योपदेश लिएर अगाढि बढेका छन् ।
सम्पूर्ण युवा साथीहरूले पृथ्वीनारायणको बारेमा एक पटक अवस्य अध्ययन गर्न आवश्यक छ । पृथ्वीनारायणको सांस्कृतिक नीति, भाषिक नीति, सुरुक्षा नीति, परराष्ट्र नीति, नेपाल एककीकरणमा विविध समुदायको भूमिका सबैले चिन्तन मनन् गर्नु आवश्यक छ ।
बाल्मिकीले रामलाई मर्यादापुरूष देखेर रामायण रचे, वेदव्यासले कृष्णलाई नायक मानेर महाभारत लेखे । कालिदासले रघुलाई आदर्श पात्र ठानी रघुवंश महाकाव्य तयार गरे भने फेरि पनि नेपाललाई विश्वसामु चिनाउनको लागि र नेपाललाई विश्वको केन्द्र बनाउनका लागि जरोकिलो महाअभियानका सङ्कल्पकर्ता डा.निर्मलमणि अधिकारीको अनुसन्धान, अनुष्ठान एवं साधनाको फलस्वरूप अभिनिर्मित सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, आधारशिला चतुष्टय आदि प्रतिपादन गरिसक्नुभएको छ ।
नेपालको मौलिकतालाई संरक्षण गर्दै प्रगतिगामी स्थितिगत्यात्मक प्रगतिवादमा आधारित सिद्धान्त र अवधारणाले मात्र वर्तमानको समस्या समाधान गर्न सक्छ । मौलिक अवधारणामा रुढी मात्र देख्ने कथित आधुनिक र विगतमा भाषिन खोज्ने कुपमण्डुकबाट बचाएर मौलिकतामा आधारित आधुनिकीकरणको लागि स्थितिगत्यामक प्रगतिवाद अपरिहार्य छ । विविधताले भरिएको नेपालजस्तो देशमा घृणामा आधारित राष्ट्रराज्य, द्वि–राष्ट्रराज्य र बहुराष्ट्रियराज्यको मान्यतालाई विस्थापित गरी सहृदयताको अवधारणा बोकेको राज्यराष्ट्र सिद्धान्तलाई मूलप्रभाहीकरण गर्न आवश्यक छ ।
जरोकिलो महाअभियानका सङ्कल्पकर्ता डा.निर्मलमणि अधिकारी भन्नुहुन्छ, ‘बेइजिङ र दिल्लीमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक स्थापना गर्ने एवं उहाँको तस्वीरमा माल्यार्पण गर्ने गराउने हो अब । नेपालमामा ओत्सेतुङ र महात्मा गान्धीका तस्बीरहरूमा माल्यार्पण गर्नेहरूका पाइन ७ दशकदेखि हेरिरहेकै हौँ, अब प्रतिमान बदलौँ ।’
गुरुले भनेजस्तै सम्पूर्ण युवाले अब प्रतिमान बदल्न आवश्यक छ । अब प्रत्येक कार्यक्रमहरूमा नेपालका विभूतिका फोटोहरू, राष्ट्रिय योगदान गरेका पुर्खाहरूका फोटोहरू राखेर होस्, वा उनीहरूले गरेका कामहरूको बारेमा विश्वसामु चिनाउने बेला आएको छ ।
हिमवत्खण्ड भन्नाले साधारणयता हिमालय श्रृङ्खला र हिमालयबाट निःसृत नदीहरूका प्रस्रवण क्षेत्रले ओगेटेको भू-भागको समष्टि भन्ने बुझिन्छ । यसलाई सपादलक्षशिखरिणी प्रदेश अर्थात सवालाखपर्वतमालाहरू समावेश रहेको भूखण्ड पनि भनिन्छ । कालिदासकृत कुमारसम्भवको साक्ष्य लिने हो भने पूर्व र पश्चिम दुवै दिशाका समुद्रहरू छुने विस्तृति हिमालयको देखिन्छ । भौगालिक हिसाबले हिमालय श्रृङ्खला करिब २ हजार ५ सय किलोमिटर पूर्व-पश्चिम फैलिएको छ । करिब ६ लाख वर्ग किलोमिटर भू-भागमा प्रत्यक्ष हिमालय क्षेत्र देखिन्छ ।
पौराणिक हिमवत्खण्ड ग्रन्थमा कैलाशमानसरोवरका पूर्व–पश्चिमबाट निःसृत बहपुत्र र सिन्धु नदीका मध्यवर्ती भू–भागको विशेष वर्णन देखिन्छ । योगी नरहरिनाथले हिमवत्खण्ड भनेर सिन्धुप्रदेशदेखि ब्रह्पुत्रसम्म फैलिएको र मानस आदि विशिष्ट सरोवरहरू समन्वित भूखण्डलाई महत्त्व दिनुभएको देखिन्छ । यसबारे थप डा. निर्मलमणि अधिकारीज्यूले हिमवत्खण्ड पुनर्जागरको अवधारणा माथपव्याख्खासहित लेख्नुभएको छ ।
प्रकृतिसँग तादाम्य राख्ने, पर्यावरणमैत्री एवं पारिस्थितक प्रणाली सापेक्ष विकासको अवधारणा र अवलम्बनको मूलप्रवाहीकरणका लागि अनुसन्धान गर्ने, हिमवत्खण्डका प्रागैतिहासिक, ऐतिहासिक, सभ्यातागत, सांस्कृतिक, सामाजिक, भौगोलिक आदि विषयको अध्ययन/अनुसन्धान गर्ने/गराउने आदि हिमवत्खण्डका उद्देश्यहरू छन् । थप अध्ययन/अनुसन्धान गरेर हाम्रा कुरालाई विश्वसामु चिनाउन सकिन्छ । विज्ञान र प्रविधिको प्रयोग गरेर पनि थप अगाडि बढाउन सकिन्छ ।
नेपालका मौलिक रैथाने धर्म, संस्कृति, रितिथिति, भाषा, कला/साहित्य, शिल्प, उद्यम आदिका क्षेत्रमा पुनर्जागरण, पहिचान एवं अस्मिताको खोजी, अनुसन्धान, विकास, मूलप्रवाहीकरणजस्ता कार्यलाई अगाडि बढाउन आवश्यक छ ।
तपाईं हामी सबैले आफ्ना अग्रजप्रति सम्मान र आफ्नो देश र समाजप्रति कर्तव्यबोधको भावका साथ अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउनुको लागि सबै एकजुट हौँ । राष्ट्र निर्माताप्रति सम्मान एवं भक्तिभाव राख्ने सम्पूर्ण सहृदयजनहरूमा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना ।